पृष्ठभूमि

नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा स्थापित गरे पश्चात सबैको पहुँच हुनेगरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको महत्त्वपूर्ण जिम्मेवारी रहेको छ । राष्ट्रिय तथा प्रदेशिक स्वास्थ्य नीति, दिगो विकास लक्ष्य, १६ औं योजना, नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीति २०७७/७८-२०८६/८७, स्वास्थ्य क्षेत्र तथा अन्य विषयगत रणनीतिहरुले समेत जनताको संवैधानिक मौलिक अधिकार सुनिश्चित गर्न स्वास्थ्य सेवाको विस्तार तथा गुणस्तर कायम गर्ने पक्षमा पनि जोड दिएको छ ।

देश संघीय शासन प्रणालीमा रुपान्तरण भईसकेको अवस्थामा स्वास्थ्य सेवाका संरचना तथा सेवा प्रणाली संघ, प्रदेश र स्थानीय गरि तीन तहमा विभाजन सँगै सबै प्रदेशमा प्रादेशिक स्वास्थ्य तालिम केन्द्रको स्थापना गरियो । संघीयताको कायार्न्वयन गर्ने सन्दर्भमा मिति २०७५ साल पौस ०९ मा नेपाल सरकार मन्त्रीपरिसद्बाट स्वीकृत भई सातै प्रदेशलाई प्रदेश स्वास्थ्य तालिम केन्द्रको संगठन संरचना तथा दरबन्दी तेरिज हस्तान्तरण गरिएको थियो। कर्मचारी समायोजन ऐन २०७५ बमोजिम र तत्कालिन सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको नीति २०७५ फाल्गुण ५ गतेको निर्णय अनुसार २०७६ बैशाख २ गते बाट काठमाण्डौमा स्वास्थ्य तालिम केन्द्र स्थापना भई हाल सम्म संस्थागत सुदृधिकरण गर्ने र उत्पादन क्षमतामा वृद्धि गर्ने गरि मूलत: प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्न सक्षम बनाउने जिम्मेबारी बहन गर्दै आएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका क्रममा देखिएका कमीकमजोरीमा सुधार ल्याउँदै कार्यसम्पादनमा सुधार ल्याउनमा विभिन्न तालिमहरुले ठोस योगदान पुर्याउछ। यसका लागि सेवा प्रदायक वा स्वास्थ्य जनशक्तिहरूको कामको प्रकृति हेरी नयाँ कार्यविवरण अनुसारको तालिमको विकास, कार्यन्वयन, अनुगमन, सहयोगी सुपरिवेक्षण तथा फलोअप जस्ता नियमित क्रियाकलापहरू गर्नुपर्ने हुन्छ। यी सबै जिम्मेवारी बहन गर्दै विभिन्न क्रियाकलाप कार्यान्वयन गरीरहँदा तालिम केन्द्रले हरेक आर्थिक वर्षमा आफुले सञ्चालन गरेका गतिविधी तथा तालिम कार्यक्रमहरूको प्रतिवेदन तयार गरी प्रकाशन गर्नु पनि यस कार्यालयको महत्त्वपूर्ण जिम्मेवारी रहन्छ । यस प्रतिवेदन विकासको प्रमुख उद्देश्य आ.व २०८१-८२ मा प्रदेश स्तरमा स्वास्थ्य क्षेत्रमा कार्यारत स्वास्थ्य जनशक्तिको क्षमता विकास सम्बन्धी स्वास्थ्य तालिम केन्द्र, बागमती प्रदेशबाट भए गरेका उपलव्धिहरु, कार्यक्रम कार्यावन्यनका क्रममा आइपरेका चुनौती तथा समाधानका उपायका बारेमा सरोकारवाला निकायहरुलाई सम्पूर्णमा जानकारी गराउदै आगामी दिनमा क्षमता विकास योजना निर्माणका लागि आधारहरू प्रदान गर्ने रहेको छ ।

दृष्टि

प्रदेश तथा स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुको प्राविधिक र व्यवस्थापकीय क्षमता अभिबृद्दि गरि गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न सहयोग गर्ने।

लक्ष्य

प्रदेश स्तरमा गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य सेवा प्रदायकहरूको प्राविधिक र व्यवस्थापकीय क्षमता अभिवृद्धि गरी स्वास्थ्य सेवा प्रवाहको गुणस्तरलाई सुनिश्चित गर्ने ।

मुख्य कार्यजिम्मेवारी

  • स्वास्थ्यकर्मी तथा स्वास्थ्य-प्राविधिकहरूलाई प्रदान गर्ने तालिमको प्रशासनिक र प्राविधिक कार्यहरु संचालन गर्ने।
  • स्वास्थ्यकर्मी तथा स्वास्थ्य-प्राविधिकको दक्षता अभिवृद्धि गरी स्वास्थ्य सेवा प्रवाहको गुणस्तरलाई अभिबृद्धि गर्न विभिन्न विषयका तालिमहरू आयोजना तथा सञ्चालन गर्ने ।
  • राष्ट्रिय तथा प्रादेशिक स्वास्थ्य तालिम सम्बन्धी मापदण्डको पालना गर्दै विभिन्न संयन्त्रहरूद्वारा प्रशिक्षण गतिविधिको गुणस्तर सुनिश्चित गर्ने ।
  • प्रदेशको आवश्यकता अनुसारको प्रशिक्षण प्याकेजहरूको विकास गरि नविनतम तालिम पद्धति अपनाई सिकाईलाइ प्रभावकारी बनाउने ।
  • प्रादेशिक आवश्यकता अनुसार सेवा प्रवेश तालिम, अभिमुखिकरण, रिफ्रेसर तालिम, अल्पकालीन र दीर्घकालीन तालिमहरू सञ्चालन साथै व्यवस्थापन गर्ने ।
  • तालिम सूचना व्यवस्थापन प्रणाली (TIMS) मार्फत तालिममा सहभागीहरूको अभिलेखिकरण गर्ने ।
  • प्रदेशका तालिम सञ्चालन गर्ने निकायको रुपमा उपयुक्त र गुणस्तरीय प्रशिक्षण, आवश्यकताको मूल्याङ्कन, अनुगमन, मुल्याङ्कन, प्रशिक्षण पछि अनुसन्धान मार्फत प्रदेश र स्थानीयस्तरका स्वास्थ्य प्रशिक्षण कार्यक्रमहरुमा प्राविधिक तथा व्यवस्थापकीय योगदान प्रदान गर्ने ।
  • स्वास्थ्य सम्बन्धि तालिम निर्देशिका, सामग्री, प्रोटोकल तथा मापदण्ड विकास, परिमार्जनमा सहयोग गर्ने।
  • सम्बन्धि विभिन्न तालिमको लागि आवश्यक प्रशिक्षकहरुको बार्षिक सूचीकरण गर्ने ।