नेपालको संविधानले आधारभूत स्वास्थ्य सेवालाई मौलिक हकको रूपमा स्थापित गरे पश्चात सबैको पहुँच हुनेगरी गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु राज्यको महत्त्वपूर्ण जिम्मेवारी रहेको छ । राष्ट्रिय तथा प्रदेशिक स्वास्थ्य नीति, दिगो विकास लक्ष्य, १६ औं योजना, नेपालको स्वास्थ्य जनशक्ति सम्बन्धी राष्ट्रिय रणनीति २०७७/७८-२०८६/८७, स्वास्थ्य क्षेत्र तथा अन्य विषयगत रणनीतिहरुले समेत जनताको संवैधानिक मौलिक अधिकार सुनिश्चित गर्न स्वास्थ्य सेवाको विस्तार तथा गुणस्तर कायम गर्ने पक्षमा पनि जोड दिएको छ ।
देश संघीय शासन प्रणालीमा रुपान्तरण भईसकेको अवस्थामा स्वास्थ्य सेवाका संरचना तथा सेवा प्रणाली संघ, प्रदेश र स्थानीय गरि तीन तहमा विभाजन सँगै सबै प्रदेशमा प्रादेशिक स्वास्थ्य तालिम केन्द्रको स्थापना गरियो । संघीयताको कायार्न्वयन गर्ने सन्दर्भमा मिति २०७५ साल पौस ०९ मा नेपाल सरकार मन्त्रीपरिसद्बाट स्वीकृत भई सातै प्रदेशलाई प्रदेश स्वास्थ्य तालिम केन्द्रको संगठन संरचना तथा दरबन्दी तेरिज हस्तान्तरण गरिएको थियो। कर्मचारी समायोजन ऐन २०७५ बमोजिम र तत्कालिन सामाजिक विकास मन्त्रालय, बागमती प्रदेशको नीति २०७५ फाल्गुण ५ गतेको निर्णय अनुसार २०७६ बैशाख २ गते बाट काठमाण्डौमा स्वास्थ्य तालिम केन्द्र स्थापना भई हाल सम्म संस्थागत सुदृधिकरण गर्ने र उत्पादन क्षमतामा वृद्धि गर्ने गरि मूलत: प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीलाई गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्न सक्षम बनाउने जिम्मेबारी बहन गर्दै आएको छ ।
गुणस्तरीय स्वास्थ्य सेवा प्रदानका क्रममा देखिएका कमीकमजोरीमा सुधार ल्याउँदै कार्यसम्पादनमा सुधार ल्याउनमा विभिन्न तालिमहरुले ठोस योगदान पुर्याउछ। यसका लागि सेवा प्रदायक वा स्वास्थ्य जनशक्तिहरूको कामको प्रकृति हेरी नयाँ कार्यविवरण अनुसारको तालिमको विकास, कार्यन्वयन, अनुगमन, सहयोगी सुपरिवेक्षण तथा फलोअप जस्ता नियमित क्रियाकलापहरू गर्नुपर्ने हुन्छ। यी सबै जिम्मेवारी बहन गर्दै विभिन्न क्रियाकलाप कार्यान्वयन गरीरहँदा तालिम केन्द्रले हरेक आर्थिक वर्षमा आफुले सञ्चालन गरेका गतिविधी तथा तालिम कार्यक्रमहरूको प्रतिवेदन तयार गरी प्रकाशन गर्नु पनि यस कार्यालयको महत्त्वपूर्ण जिम्मेवारी रहन्छ । यस प्रतिवेदन विकासको प्रमुख उद्देश्य आ.व २०८१-८२ मा प्रदेश स्तरमा स्वास्थ्य क्षेत्रमा कार्यारत स्वास्थ्य जनशक्तिको क्षमता विकास सम्बन्धी स्वास्थ्य तालिम केन्द्र, बागमती प्रदेशबाट भए गरेका उपलव्धिहरु, कार्यक्रम कार्यावन्यनका क्रममा आइपरेका चुनौती तथा समाधानका उपायका बारेमा सरोकारवाला निकायहरुलाई सम्पूर्णमा जानकारी गराउदै आगामी दिनमा क्षमता विकास योजना निर्माणका लागि आधारहरू प्रदान गर्ने रहेको छ ।
